अग्रिम टिकट बुकिङ बन्द गर्न यातायात व्यवसायीको माग

काठमाडौँ — बाढीले सडकमा क्षति पुगेपछि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । मुख्य राजमार्गहरू कतै बगाएको र कतै भासिएको भएर गाडी सञ्चालनमा समस्या हुने देखिएपछि यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न भनिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सिटौलाका अनुसार बन्द गर्ने निर्णय भने भइसकेको छैन । अहिले यसै सम्बन्धमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफलका क्रममा रहेको उनले जानकारी दिए ।

यातायात व्यवस्था विभागमा छलफलपश्चात शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । पहिलो दिन बुकिङ गर्न झरीबीच छाता ओडेर यात्रु काउन्टर पुगे पनि त्यसपछि भने काउन्टरहरू सुनसान जस्तै बनेका छन् । पूर्वका केही जिल्ला जोड्ने सडक बाढीले बगाएपछि ती जिल्लाका लागि अग्रिम बुकिङ खुल्ला गरिएको छैन ।

अहिले बीपी राजमार्गको नेपालथोक खण्डको विभिन्न स्थानमा गरेर १ किलोमिटरभन्दा बढी सडक रोशी खोलाले बगाएको छ । जुन खण्डमा अहिले यातायात ठप्प छ । सडक विभागका अनुसार मंगलबार देशभर विभिन्न राजमार्गको ३३ स्थानमा सडक ठप्प छ भने ४ सय १४ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्