वीरगंज, २३ असोज । साउथ सिटी हिमाल हस्पिटलमा गर्भवती महिला र बच्चाको मृत्यु भएपछि विवाद उत्पन्न भएको छ। वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित रहेको सो अस्पतालमा रौतहट, दुर्गाभगवती नगरपालिका–३ भलुवहिया बस्ने वर्ष २८ की रुबी खातुनको प्रसुति गराउने क्रममा मृत्यु भएको हो । बुधवार अस्पताल भर्ना भएकी रुबीको गाइने चिकित्सक डा. प्रीति यादवको रोहबरमा उपचार भइरहेको क्रममा मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । नर्मल विधिबाट प्रसुति गराउन ढिलो गरेको कारण गर्भवती खातुन र बच्चाको मृत्यु भएको रुबीका पति महम्मद मुस्ताकले आरोप लगाएका छन् । शल्यक्रिया गरेर बच्चा निकालेको भए आमा र बच्चाको ज्यान जोगिने मुस्ताकले बताए । डिलेभरी भइरहंदा विशेषज्ञ डा. प्रीति यादव आफ्नो बच्चालाई दुःख खुवाउन हिंडेकोले पनि घटनामा चरम लापरवाही भएको परिवारजनको भनाइ छ । अस्पतालका निर्देशक डा. सन्देश यादवले यस घटनामा दुःख व्यक्त गरेका छन् । उनले प्रीति यादव इमर्जेन्सीको एटेन्डी डाक्टर भएको र उनकै निगरानीमा रुबीको सुत्केरी गराउने क्रममा मृत्यु भएको बताएका छन् । घटनाको छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न माग गदै मृतकका परिवारजनले बिहीवार प्रदर्शन गरेका छन् । दिउँसो जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बिरामी पक्ष र अस्पताल पक्षबीच सहमति भएको र रुबीका परिवारजनले शव बुझेर पोष्टमार्टमको लागि लगेको जानकारी गराएका छन् ।