इलाका प्रशासन कार्यालय सुपौलीबाट सुरु भयो नागरिकता वितरण

२३ भदौ,सेढवा । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको छ । तीन वर्षदेखि बन्द रहेको सुपौली इलाकाबाट आजदेखि नागरिकता वितरणको सेवा पुनः सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कार्यालयको उद्घाटन गरेपछि पुनः  नागरिकता वितरणसहितको सेवा सुरु भएको हो ।  इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बाहेकको सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुपौलीबाट नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचय पत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य गरिनेछ । कर्मचारीको अभावमा ०७९ सालदेखि इलाका प्रशासन कार्यालय सुपौलीबाट गरिने सेवा प्रवाहको कार्यक्रम रोकिएको थियो ।

कर्मचारीको अभाव रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले त्यहाँबाट प्रवाह हुने सेवा बन्द गरेको थियो । सेवा बन्द भएपछि जनतालाई सामान्य कामको लागि पनि सदरमुकाम धाउदा धेरै सास्ती खेप्नुपर्ने बाध्यता बढ्दै गएपछि त्यसलाई मध्यनजर गरेर सेवा  सुरु गरिएको हो ।

- Advertisement -
Ad imageAd image

सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्‍याउने हेतुले इलाका प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयबाट हुने कामकामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । सुपौली प्रशासन कार्यालयमा एक जना अधिकृतसहित ७ जनाको टोली राखेर इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

सुपौली इलाकाबाट ४ वटा पालिका ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकालाई प्रत्यक्ष फाइदा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारको निर्णय अनुसार ०७५ सालको पुस महिनादेखि सुपौलीबाट सेवा सुरु गरिएको थियो ।

उद्घाटनशत्रमा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता थियो । सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मानित गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मानित गरेको हो ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्